What's happening: Annual BBQ June 13 | WCC Open Day June 27th

Sanjha Pakha: Burnt Oak Youth Brings Nepali Music

FEATURED

SG

5/31/20261 min read

शनिबार ३० मे २०२६ का दिन मिल हिल स्कूल नेपाली गीत, संगीत र नृत्यले गुञ्जायमान बन्यो। बर्न्ट ओक नेपाली युथद्वारा आयोजित यो सांगीतिक साँझ बर्न्ट ओक नेपाली कम्युनिटी, मामा घर लगायत विभिन्न संघ-संस्थाहरूको साथ, सहयोग र मायाले भव्य रूपमा सफल भयो।

कार्यक्रममा बर्न्ट ओक नेपाली कम्युनिटीका अध्यक्ष खमिर जंग गुरुङ, फर्स्ट लेडी कमला गुरुङ, एजवेयरबरीका काउन्सिलर लक्ष्य गुरुङ लगायत समुदायका सदस्यहरू तथा नजिक र टाढाबाट पाल्नुभएका नेपाली दाजुभाइ–दिदीबहिनीहरूको उल्लेखनीय र उत्साहजनक उपस्थिति रहेको थियो।

कार्यक्रमको मुख्य आयोजना बर्न्ट ओक समुदायका गायक रुपक पन्त, DJ रमेश श्रेष्ठ र मामा घरका आयोजक तथा बर्न्ट ओक समुदायका सदस्य बिमल तिमिल्सिनाले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन यशोदा रसाइलीले गर्नुभएको थियो।

सुरुवातदेखि नै पप संगीतप्रेमीहरूको उत्साहजनक उपस्थितिले कार्यक्रमको माहोल जीवन्त बनेको थियो। सांगीतिक कार्यक्रमको शुभारम्भ कृष्ण खनालकी छोरी कवि खनालको प्रस्तुतिबाट सुरु भयो। उनले गजल सम्राट गुलाम अलीको लोकप्रिय गीत “गाजलु ती ठूला ठूला आँखा” प्रस्तुत गर्दै साँझको सुन्दर सुरुवात गरिन्।

त्यसपछि कार्यक्रम सम्झना भण्डारीको प्रस्तुतिबाट अघि बढ्यो। “लमजुङ जाने बाटोमा” र “तिम्रो गाउँमा कुरा काटेको” जस्ता गीतहरूबाट परिचित सम्झना भण्डारीले आफ्ना लोकप्रिय गीतमार्फत दर्शकहरूलाई रमाइलो माहोलमा डुबाउनुभयो।

‘साँझपख’ मिल हिल स्कूलमा नेपाली सांगीतिक साँझ सम्पन्न भयो।

नविन भट्टराई दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्दै।

कवि खनाल प्रस्तुति तयारीमा।

यससँगै ग्लुमी गाइजको प्रस्तुतिले कार्यक्रमलाई थप ऊर्जाशील बनायो।

राति करिब ८ बजे नविन भट्टराई र उहाँको ब्यान्डले मञ्च सम्हाल्दै १७ वटा सुमधुर गीतहरू प्रस्तुत गर्नुभयो।

उहाँको प्रस्तुतिसँगै दर्शकहरू झनै उत्साहित बने। हल गीत, ताल र तालीले अझै गुञ्जायमान हुन थाल्यो, र धेरै दर्शकहरू उहाँका गीतहरू ठूलो स्वरमा सँगसँगै गाउन थाले।

कार्यक्रममा कोसेली किचनद्वारा लन्च र खाजाको व्यवस्था गरिएको थियो। यससँगै बर्न्ट ओक समुदायका सदस्यहरूका लागि विशेष छुट पनि राखिएको थियो।

नविन भट्टराईको प्रस्तुति सम्पन्न भएपछि DJ ले विभिन्न नेपाली तथा लोकप्रिय गीतहरू बजाउँदै दर्शकहरूलाई नाचगानमा झुमाइरहे। संगीत र नृत्यको माहोल मध्यरातसम्म निरन्तर चलिरह्यो।

यो कार्यक्रम केवल सांगीतिक प्रस्तुति मात्र नभई नेपाली संस्कृति, समुदाय र आपसी एकताको सुन्दर उत्सव पनि बन्यो। बर्न्ट ओक नेपाली समुदायको सक्रिय सहभागिता, कलाकारहरूको ऊर्जाशील प्रस्तुति र सहभागीहरूको उत्साहले साँझलाई विशेष बनायो।

गीत, संगीत, खाना र आपसी भेटघाटले भरिएको यो साँझ सहभागीहरूका लागि लामो समयसम्म सम्झनायोग्य रहनेछ।

info@bonc.org.uk