UK Nepal friendship: टेन डाउनिंग स्ट्रीटमा सेल रोटी
PAST EVENTS










गत सोमबार (२० मे २०२४) अपरान्ह टेन डाउनिंग स्ट्रीट बाहिर नेपाली समुदायका अगुवाहरुको भीड लागेको थियो। ब्रिटिश संसद भवन, बिग बेन (घन्टाघर) तथा वेस्टमिन्सटर आबी जस्ता ऐतिहासिक स्थल नजिकै रहेको ब्रिटिश प्रधानमंत्रीको निवास तथा कार्यालय समेत रहेको उक्त चर्चित स्थानमा एसियाली मूलका प्रहिलो ब्रिटिश प्रधानमंत्री ऋषि सुनकको निम्तो मान्न बेलायतमा बसोबास गर्ने नेपालीहरु टाढाटाढाबाट भेला भै रहेका थिए। अल्डरशटबाट भूतपूर्व गोखा सैनिक अगुवाहरुका साथै वर्तमान तथा पूर्व काउन्सिलरहरु एउटा मिनी बस रिजर्भ गरेर आएका थिए। एअरपोर्टको जस्तै सुरक्षा जांच पछि १३० भन्दा बढी आमन्त्रितहरुलाई कार्यक्रम हुने भवनको भुइँ तलामा मोबाइल फोनहरु राख्न लगाइयो। त्यस पछि सबै पाहुनाहरु तेश्रो तल्लामा पुगे जहाँ नेपाल तथा बेलायतबीच १०० वर्ष पहिले (२१ डिसेम्बर १९२३) हस्ताक्षर गरिएको शान्ति तथा मैत्री सन्धिको सक्कल प्रति 'न्याशनल आर्काइभ्स' बाट ल्याएर राखिएको थियो।
प्रवासी नेपालीहरु बाहेक समारोहमा उपस्थित ब्रिटिश सांसदहरु, प्राज्ञ तथा व्यवसायीहरुलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले उक्त सन्धिपश्चात् अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको उपस्थिति र अन्तर्राष्ट्रिय सम्बन्ध प्रवर्द्धन गर्न महत्त्वपूर्ण योगदान पुगेको उल्लेख गरे । उनले बेलायत सरकारलाई नेपालको विकासमा पुर्याएको सहयोगका लागि धन्यवाद पनि दिए ।
ब्रिटिश संसदमा जवाफ दिएर केही ढिलो गरी आइपुगेका प्रधानमंत्री सुनकले नेपाल तथा बेलायतबीच सुगौली सन्धि पछि २०० वर्ष भन्दा लामो ऐतिहासिक सम्बन्ध रहेता पनि १९२३ को सन्धिले दुइ मुलुक बीचको सम्बन्धलाई अरु मजबूत तुल्याएको बताए। उनले ब्रिटिश सेनामा कार्यरत गोर्खाली सैनिकहरुको योगदान र बलिदानको स्मरण गर्दै गोर्खा सैनिक दुइ देश बीचको सम्बन्धको जग रहेको जनाए । उनले नेपालको विकास र प्रगतिमा सघाउन बेलायत सरकारले आउँदो ६ वर्षका लागि ४० करोड पाउन्ड सहयोग गर्ने घोषणा गरेको जनाउँदै जल वायु परिवर्तन जस्ता चुनौती संग जुध्न दुवै देशले सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।
बेलायतकी परराष्ट्र राज्यमन्त्री आन मरी ट्रभेलियनले पनि मध्यम आय भएको मुलुक बन्ने नेपालको लक्ष्यमा बेलायतले सहयोग जारी राख्ने वाचा गरिन्।
शान्ति सन्धिको महत्व
जुन बेला पाकिस्तान र बंगलादेशको जन्म नै भएको थिएन, भारत ब्रिटिश उपनिवेश थियो, त्यति बेला सिंह दरबारमा राणा प्रधानमंत्री चन्द्र शमशेर तथा नेपालस्थित ब्रिटिश आवासीय दूत लेफ्टिनेन्ट कर्णेल डब्लु एफ टी ओ कोनरले दुइ मुलुक बीच शान्ति तथा मैत्री सन्धिमा हस्ताक्षर गरेका थिए।
बेलायतको लिड्स विश्वविद्यालयमा अन्तरराष्ट्रिय कानूनका प्राध्यापक सूर्यप्रसाद सुवेदीका अनुसार नेपाल र बेलायतबीच विभिन्न समयमा सन्धि सम्झौताहरू भएता पनि सन १९२३ मा नेपाल एउटा स्वतन्त्र र सार्वभौम मुलुक हो भनेर अन्तर्राष्ट्रिय समुदायमा चिनाउन उक्त सन्धि सहयोगी भयो। उक्त सन्धिको प्रति लिग अफ नेशन्समा पनि दर्ता गरिएकाले सन् १९५५ मा नेपाललाई संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गर्न र अन्य मुलुकहरुसँग सम्बन्ध बिस्तार गर्न सहयोग पुगेको उनले बताए।
त्यसो त नेपाल तथा बेलायत बीच केही विवाद अझै पनि कायम छन्। सन् १९९७ भन्दा पहिले ब्रिटिश सेनाबाट सेवानिवृत्त गोर्खा सैनिकहरुले ब्रिटिश सैनिकहरु सरह समान पेन्सन पाउनु पर्ने लगायतका माग राखेर आन्दोलन गरिरहेका छन्। आफ्ना माग पुरा गराउन सन् २०२१ अगष्टमा दुइ जना सहयोगी सहित ब्रिटिश रक्षा मन्त्रालय नजीकै १३ दिन भोक हडताल गरेका पूर्व गोर्खा सैनिक ज्ञानराज राई आफु हरुको आन्दोलन जारी रहेको बताउँछन्।
राइ र उनका सहयोगीहरुले भूतपूर्व गोर्खा सैनिकहरुका मागहरुबारे छलफल गर्न दुवै देशले उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरे पछि भोक हडताल स्थगित गरेका थिए। त्यसयता उच्चस्तरीय समितिको पटक पटक बैठक बसी सकेको छ तर कुनै सहमति बन्न सकेको छैन। "ब्रिटेनले गोर्खालीहरुको गुण तिर्न बाँकी नै छ," राई भन्छन।
भविष्यतर्फ उन्मुख
प्रधानमंत्री सुनक तथा राजदूत आचार्य दुबैले आउँदो १०० वर्षमा दुवै मुलुकहरु बीचको सम्बन्ध अरु बहु आयामिक हुने विश्वास व्यक्त गरे। प्रधानमंत्री सुनाकले बेलायतमा नेपाली डायसपोराको योगदानको प्रशंसा पनि गरे। भूतपूर्व गोर्खा सैनिकहरु बाहेक चिकित्सक, नर्स, इन्जिनियर, व्यवसायी लगायत डेढ लाख भन्दा बढी नेपालीहरु अहिले बेलायतमा बसोबास गरिरहेको अनुमान गरिएको छ। नेपाली खाना र संस्कृतिलाई चिनाउदै बेलायतभरि २०० भन्दा बढी नेपाली रेस्टुरेन्टहरु रहेका छन्।
त्यस्तै हजारौं नेपाली विद्यार्थीहरु बेलायतका विभिन्न विश्वविद्यालयमा अध्यनरत छन्। गएको केही महिना यता लन्डन तथा नजिकैका शहरमा आइ पुगेका विद्यार्थीहरुले कोठा भाडा तथा काम नपाएको गुनासो गरिरहेका छन् भने बेलायतस्थित नेपाली संघसंस्थाले सक्दो सहयोग गर्न प्रयास पनि गरेका छन्। बेलायतमै जन्मिएर हुर्की रहेको नेपाली दोश्रो पुस्ता खेलकुद, अध्ययन, व्यवसाय लगायत विभिन्न क्षेत्रमा अब्बल देखिएको छ। अहिले सम्म नेपाली मूलका कोही पनि व्यक्ति ब्रिटिश संसदमा निर्वाचित हुन नसके पनि नेपाली मूलका कैयौं व्यक्ति मेयर, उपमेयर र काउन्सिलर निर्वाचित भै सकेका छन्।
टेन डाउनिंग स्ट्रीटमा सेल रोटी
स्थानीय नेपाली समुदायको समेत सहयोगमा आयोजित स्वागत समारोहमा सहभागी हुन चर्चित अभिनेत्री मनिषा कोइराला आइ पुगेकी थिइन। त्यस्तै जर्मनीबाट गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष जीवा लामिछाने आइ पुगेका थिए भने एनआरएन अभियन्ताहरु कुल आचार्य, डा हेम राज शर्मा, राम शरण सिम्खडा पनि सहभागी थिए। म्यानचेस्टरबाट स्थानीय समाज सेवी पुष्प श्रेष्ठ आइ पुगेका थिए। बर्न्टओक नेपाली समाजका अध्यक्ष खमीर जंग गुरुङ, पूर्व अध्यक्ष तथा काउन्सिलर लक्ष गुरुङ लगायत समाजका सदस्य तथा पदाधिकारीहरुको समारोहमा उत्साहपूर्ण उपस्थिति थियो।
कार्यक्रम आयोजना गर्न खटिएका युवा समाजसेवी रवि जंग लामिछानेले सबै सहभागीहरुलाई धन्यवाद दिइ रहेका थिए भने अर्का युवा प्रशान्त कुँवरले टी-ट्वान्टी विश्वकप क्रिकेटको जर्सी प्रधानमंत्री सुनकलाई उपहार दिए। लामिछानेले प्रधानमंत्री सुनकलाई खादा र ढाका टोपी लगाई दिंदै स्वागत गरे भने उनका १० वर्षीय छोरा प्रणवले हनुमान चालिसाको पुस्तक उपहार दिए। ब्रिटिश सेनामा उच्च ओहोदामा कार्यरत ब्रिगेड अफ गोर्खाजका लेफ्टिनेन्ट कर्नेल टोल खाम्चा लगायत थुप्रै पूर्व गोर्खा सैनिकहरुको उल्लेख्य उपस्थिति थियो। कार्यक्रममा क्याटरिंग गरेको थियो एभरेष्ट इनले। पाहुनाहरुका लागि शर्बत लगायतका ‘नन अल्कोहोलिक ड्रिंक्स’ हरु राखिएको थियो भने मोमो लगायतका खाने कुराहरु पनि सर्भ गरिएको थियो। तर, धेरै नेपालीको मन जित्यो सेल रोटीले। एभरेष्ट इनका संचालक यादव भण्डारीले यस भन्दा पहिले आफुले ब्रिटिश विदेश मन्त्रालयमा क्याटरिंग गरेको भएता पनि प्रधानमंत्री निवासमा भने पहिलो पटक क्याटरिंग गरेको बताए । त्यस्तै पहिलो पटक टेन डाउनिंग स्ट्रीटमा पुगेका अधिकांश नेपालीहरुले कार्यक्रम सकिए पछि बीबीसी लगायतका टेलिभिजनहरुबाट प्रत्यक्ष प्रसारण गरिने ऐतिहासिक नं १० को ढोका अगाडी सेल्फी र सामूहिक तस्बीर खिचेका थिए। धेरैजसो सहभागीहरुको भनाइ थियो, अब फेरि टेन डाउनिंग स्ट्रीट आउन लामो समय पर्खनु नपरोस्।
भगीरथ योगी
(बीबीसी नेपाली सेवाका पूर्व संवाददाता योगी बर्न्टओक नेपाली समाजका मिडिया संयोजक हुन्।)







