What's happening Next: Dashain party tentative on 24th October

Who am I

FEATURED

Mr. Govind Belbase

9/3/20251 min read

म को हुँ !

म को हुँ !

-गोविन्द बेल्वासे

विपासना ध्यानमा ‘म’ खोज्ने चलन छ भन्ने सुन्छु । मैले विपासना ध्यानको औपचारिक पद्दति अहिलेसम्म अपनाएको छैन ।

मानिसको जीवनमा सबैभन्दा पुरानो, तर सबैभन्दा कठिन प्रश्न यही हो— म को हुँ ?

Douglas Hofstadter ले I’m a Strange Loop नामको पुस्तकमा चेतनालाई सानो i(आइ) र ठूलो I(आर्इ)

संवादको रूपमा चित्रित गरेका छन्।

सानो i(आइ) : मेरो आलस्य, डर, भ्रम, नकारात्मक सोच।
ठूलो I : मेरो स्वाभिमान, चेत, विवेक र आत्मविश्वास।

बाल्यकालमा भूत देख्दा म सानो i (आइ) मा थिएँ। पछि विज्ञान, दर्शन, अध्ययन र अनुभवले त्यो भूतको डरको भावना परिवर्तन गरिदियो। त्यतिबेला मेरो ठूलो I(आर्इ) जन्मिँदै थियो।

नाम, थर, नागरिकताको प्रमाणपत्र, पासपोर्ट, जन्ममिति— यी बाहिरी प्रमाण मात्र हुन्। वास्तवमा मभित्र निरन्तर फेरिंदै गर्ने एउटा चेतनाको प्रवाह चलिरहन्छ। यही प्रवाहलाई सम्हाल्दै कहिले दर्शनले, कहिले संस्कारले, कहिले विज्ञानले, कहिले राजनैतिक संघर्षले मलाई उत्तर दिन खोज्छन्। तर उत्तर पाएको भान हुन्छ, फेरि पनि प्रश्न त्यत्तिकै बाँकी रहन्छ। बेलाबखत धारणा बदलिन्छ ।

धर्को

मेरो जन्म हुँदाको हुने खाने ब्यक्ति घोंडा चढ्ने यूग अहिले बदलिएको छ। उनीहरूका सन्तती प्लेन र चिल्ला कार चढ्न थालेका छन् । अहिले वडा कार्यालयले जन्मदर्ता गरेर प्रमाणपत्र दिन्छ । त्यस समयमा जन्मदर्ता गर्ने कानून नै बनेको थिएन। त्यो यूगमा “धर्को कोर्ने” चलन थियो।

सुत्केरी कोठामा आमा प्रसव पीडाले कराइरहनु भएको बेला बाहिर दलानमा बसेर ज्योतिषको केही ज्ञान भएका मानिसले धर्को कोर्थे। थाल ठटाइन्थ्यो, ध्वनिको यात्रा कति समयमा बाहिर पुग्छ भनेर मिलाएर नक्षत्र निर्धारण गरिन्थ्यो। त्यसैलाई आधार मानेर चिना लेखिन्थ्यो।

आजको पुस्ता जन्मदिनको शुभकामना फेसबुकले याद गराइदिन्छ। तर मेरो पुस्ताका धेरै ब्यक्तिको जस्तै, मेरा पनि तीनवटा जन्मदिन छन्—
१. धर्को अनुसारको,
२. सरकारी कागजमा लेखिएको,
३. फेसबुकमा देखिने।

बुवाआमाको मानसिकता पनि त्यसै संस्कारमा गाँसिएको थियो। समाजले छोरोबिनाको जीवन अधुरो ठान्थ्यो। आमा निरन्तर छटपटिनु हुन्थ्यो— “अपुत्रि हुनु पूर्व जन्मको पाप हो” भन्ने भ्रमले उहाँलाई पिरोल्थ्यो।

बुवाले समेत हरिबंश यज्ञ, महाभारत यज्ञ लगाउनुभयो पुत्र प्राप्तिको निम्ति। तर यही बुवाले मलाई भिन्न शिक्षा दिलाउनुभयो। उहाँले पाएको अध्यात्मवादी शिक्षा भन्दा मलाई सेंट जोसेफ बोर्डिङ र सरकारी विद्यालय हुँदै भौतिकवादी चेतनासम्म लैजाने शिक्षा दिलाउनुभयो।

भारतको स्वतन्त्रता संग्राम र चीनको क्रान्तिले उहाँलाई प्रभावित गरेको थियो। त्यसैले पत्नीलाई ‘तँ’ भनेर अपमान गर्ने प्रचलन हुँदाहुँदै उहाँले कहिल्यै त्यसो गर्नुभएन। सप्तपदीमा दिइएको वचनलाई स्मरण गर्दै समानताको चेत राख्नुभयो।

यसरी मेरो चेतनाको जग विरोधाभासमाझ झाङ्गिँदै गयो । परम्परागत संस्कारले तानेको धर्को र बुवाले खोलेको आधुनिक दृष्टिकोणबीच अन्तर्विरोध चलिरहन्छ ।

म छ वर्षको थिएँ। अनि एक दिन साँझ, कोल नजिक पुग्दा, मैले भूत देखेँ । सेतो पहिरनमा, अग्लो काठजस्तो, बासुरी बजाइरहेको भूत। दिदीहरूले भूतका कथा सुनाउनु भएको थियो। दिदीले बर्णन गरे जस्तै भूत देखेको थिएं । त्यो क्षणमा त्यो भूत मेरो सत्य थियो।

तर पछि बुझें— त्यो भूत मेरो आँखाले होइन, दिमागले मात्र देखाएको रहेछ। अरू कोहीले देखेनन्। दिदीले वर्णन गरेको भूत मेरो कल्पनामात्र थियो । बाहिरी आँखाले भूत देखिएको जस्तो भ्रम भएको रहेछ।

त्यतिबेला त्यो मेरो बाल्यकालको सत्य थियो। तर आज त्यो वर्तमानको असत्य हो। त्यसैले मैले निष्कर्ष निकालें— सत्य धेरै हुन्छन्।

भूत देखेको मेरो बाल्यकालीन अनुभवलाई पछि गएर मैले चलचित्र र साहित्यका धेरै उदाहरणसँग तुलना गर्न पनि सिकेँ। ‘लगेरहो मुन्ना भाइ’ नामको हिन्दी चलचित्रमा हिरोले गान्धी आएर ज्ञान सिकाएको देख्छन्। सर्किटले हिरो सन्जयदत्तलार्इ खुसी पार्न आफूले पनि देखें भनिदिन्छ। झुट बोल्छ। उसले देखेकै हुँदैन । त्यसैले अरूले झुट बोल्दा पनि सत्य बोलेको भ्रममा मान्छे बाँचेको हुन्छ भन्ने पनि पुष्टि हुन्छ । तर हिरोको चेतनामा गान्धी जीवित हुन्छन्, संवाद गर्छन्, बाटो देखाउँछन्। त्यस्तै, Beautiful Mind नामको अङ्गरेजी फिल्ममा गणितका प्रख्यात प्रोफेसर जोन नासले नदेखिने साथी र काल्पनीक परिवेशमा कुराकानी गर्छन्। उनको जीवनमा ती पात्रहरू वास्तविक होइनन्, तर उनको दिमागले सिर्जना गरेका यथार्थ हुन्।

यी दुई प्रसङ्गले मलाई आफ्नो "भूत" को अनुभव सम्झाउँछन्। दिदीले सुनाएका कथाले मेरो चेतनामा एउटा ढाँचा तयार पारेको थियो । अप्रत्याशित परिस्थितिमा मलार्इ आँखाले देखेजस्तो भान भयो। मुन्ना भाइको गान्धी वा प्रोफेसरको साथीहरूजस्तै, मेरो भूत पनि बाहिरी सत्य होइन, चेतनाको उत्पाद थियो। तर त्यो क्षणमा त्यो ‘सत्य’ नै मेरो लागि परम सत्य थियो।

यसरी हेर्दा, मानिसको चेतनाले यथार्थहरू निर्माण गर्छन् । दर्शनशाष्त्रका वाद–विवादमा होस् वा सिनेमाको पर्दामा, वा मेरो बाल्यकालको डराइमा, सबैले एउटै प्रश्न उठाउँछन्—सत्य बाहिरी जगतले दिने हो कि हाम्रो भित्री चेतनाले सिर्जना गर्ने हो? इम्पेरिकल अर्थात अनुभववादले पनि एक हदसम्म वैचारिक धारणा(आइडियालिजम) नै निर्माण गरिरहेको हुनेरहेछ ।

पहिलो पटक “सत्य धेरै हुन्छन्” भन्ने सुन्दा मलाई झट्का लागेको थियो। तर भूतको अनुभव, दर्शनशाष्त्र र विज्ञान अध्ययनपछि म आज “सत्य एउटा मात्र हुँदैन” भन्ने निचोडमा पुगेको छु ।

अदालतमा साक्षीले दिएको बयान पनि परीक्षण हुन्छ। बाल्यकालमा मलाई सोधिएको भए म भूत देखेको कुरा सत्य भन्थें। आज सोध्दा “त्यो भ्रम थियो” भन्नु नै सत्य हुन्छ। त्यसैले सत्य समय, दृष्टिकोण र ज्ञानसँगै बदलिन्छ।

अरविन्द घोसले चेतनालाई जगतको मूल मानेर सृष्टिकर्ता र ब्रह्माण्डलाई एउटै सत्यका दुई रूप भने। शंकराचार्यले भने ब्रह्मलाई मात्र सत्य र जगतलाई मिथ्या ठहराए।

सिग्मण्ड फ्रायडले सपनामा पनि पूर्वचेतना र अवचेतन व्यक्त हुन्छ भने। उनको मनोविज्ञान र शंकराचार्यको मायावाद मिलेको जस्तो लाग्छ ।

थॉमस कुहनले विज्ञानमा समेत ‘paradigm shift’ भनी सत्यको बहुलता औंल्याए। दयानन्द सरस्वतीले भने ज्ञानकै आधारमा धारणा फरक पर्छ भनी तर्क गरे।

त्यसैले सत्य स्थिर नभई चेतना, संस्कार र परिस्थितिअनुसार बदलिने रहेछ ।

म पहाडमा हुर्कें। कठोर जीवन, सादगी र अनुशासनको धरातल भोगें। पछि तराईको थारू संस्कृतिसँग मिसिँदा जीवनमा रमाइलोपन, नाचगान र लचकता थपियो।

यी दुई संस्कृतिको मिश्रणले म भित्र ठूलो I अझ विस्तारित भयो।

श्रमिक शोषणविरुद्धको अभियानबीच मैले दृढता सिकें। आन्दोलनले चेतनामा कठोरता थप्यो। तर सानो i अल्छीपनमा घिसारिन खोज्थ्यो।

तर पुर्खाको जीवनशैली र जीन(कोष) बिकासको बुझाइले आलस्यलाई वैज्ञानिक रूपमा बुझ्न सिकायो। रिचर्ड डिकिन्सले सरल भाषामा सिकाएको भान भयो। स्वास्थ्य, व्यायाम र अनुशासनले ठूलो I ले सानो i लाई नियन्त्रण गर्न सक्ने बनायो।

डेविड डिचको Fabric of Reality नामको पुस्तक ले मेरो ज्ञानको परिधि अलि फराकिलो बनायो। अक्सफोर्डको चिसो हिउँमा हिटिङ सिस्टम नभएको भए पुस्तक लेख्न सम्भव हुने थिएन भन्ने उनको भनाइ यथार्थवादी ठहरियो। मेरा जीवनका घटनाक्रम फिलिमको रील झै घुम्न थाले।

यसले मलाई दर्शन, चेतना र विचार मात्रले हुँदैन; भौतिक अवस्था, समाज र पूर्वाधार पनि सत्यका आधार हुन् भन्ने सिकायो ।

नागार्जुनले ब्यक्तिको अस्तित्व छ तर स्वतन्त्र छैन भनेका रहेछन्। सबै कुरा सम्बन्धमा मात्र हुन्छ।

दिमागका नकारात्मक र सकारात्मक दुवै सोँच अस्थायी हुन् भन्ने बुझेँ। तर बीचमा रहेको शून्यको भावनाले ठूलो I लाई आत्मसम्मानी बनाउँछ। तर, त्यो शून्यमा अडिन कठीन रहेछ ।

इतिहास हेर्दा पनि सत्य बहुआयामीक देखिन्छ—

  • बुद्धले परिवार त्यागेर दुःख हटाउने सत्य खोज्न हिँडे।

  • रामायण र महाभारतले पारिवारिक कर्तव्यलाई सत्य ठहराए।

  • मार्क्स–लेनिनले वर्गविहीन समाजलाई सत्य माने।

  • माओले नौलो जनवादी क्रान्तिको सत्य खोज्ने मार्ग अपनाए।

  • कामु र सार्त्रले निरर्थकतामा पनि स्वतन्त्रताको सत्य देखे।

  • बीपी कोइरालाले प्रजातान्त्रिक समाजवादलाई सत्य भेट्ने आधार बताए।

  • पूँजीवादीहरू सुधारलाई सत्य मान्छन्।

  • इस्लामिक कट्टरपन्थीहरू जिहादलाई सत्य ठान्छन्।

त्यसैले सत्य एउटा मात्र होइन— व्यक्ति, समय, समाजअनुसार फरक–फरक हुने रहेछ।

  • म धर्कोमा कोरिएको जन्म समय पनि हुँ,

  • फेसबुकमा देखिने जन्मदिन पनि मेरै ठहरिन्छ।

  • म बाल्यकालको भूत देख्ने सानो i पनि हुँ,

  • चेतनाले आत्मविश्वासी बनेको ठूलो I पनि हुँ।

  • म बुवाको पुत्र मोहको अपेक्षा पनि हुँ,

  • र उहाँकै शिक्षा र सम्मानको जग पनि।

  • म नागार्जुनको शून्य पनि हुँ,

  • डिचको धरातल पनि।

  • म अरविन्दको ब्रह्म पनि हुँ,

  • शंकराचार्यको मायाजाल पनि।

यसैले म कुनै स्थिर उत्तर होइन।
म निरन्तर यात्रा हुँ— संस्कार, अनुभव, दर्शन, राजनीति, विज्ञान र अध्यात्मको मिश्रण हुँदै अगाडि बढ्ने चेतनाको धारा हुँ ।

Related Stories

info@bonc.org.uk